समाचार

आज गौरापर्वको मुख्य दिन : अठ्यावाली पूजासहित दुर्वाष्टमी मनाइँदै

काठमाडौं :सुदूरपश्चिम प्रदेशमा मनाइने प्रमुख चाड गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी (अठ्यावाली) विविध धार्मिक विधिहरूसहित मनाइँदैछ।

सोमबार साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानैदेखि बर्तालु महिलाहरूले मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने परम्परा छ। पूजाका क्रममा महिलाहरूले फाग (धार्मिक भजन) गाउने र बिरुडा -पाँच थरिका अन्न मिसाएर बनाइने प्रसाद चढाएर गौरादेवीलाई आराधना गर्ने चलन छ।

यस अवसरमा हिजो चढाइएको दुबधागो (मन्त्रिएको विशेष धागो) आज महिलाहरूले धारण गर्ने परम्परा छ। जनैपूर्णिमामा पुरुषहरूले जनै फेरे झैँ, गौरापर्वमा महिलाले दुबधागो धारण गर्नु आफ्नो सौभाग्य, समृद्धि, सन्तानको दीर्घायु र परिवारको सुखशान्तिको प्रतीक मानिन्छ।

यसैबीच, गौरापर्वको अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघ सरकारले आज (आइतबार) का लागि बिदा दिएको छ भने प्रदेश सरकारले भोलि (सोमबार) बिदा दिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :