खेलकुद

एनपिएल दोस्रो सिजनको लिलामी सकियो, चार खेलाडीलाई १५ लाख सम्मको मूल्य

काठमाडाै:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लिलामी सम्पन्न भएको छ। आठ टिमहरूले २६ खेलाडीमा बोली लगाएर अनुबन्ध पूरा गरेका छन्। अक्सनमा सर्वाधिक मूल्य आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद गरि चार खेलाडीले पाएका छन् , प्रत्येकलाई १५ लाख रुपैयाँमा टिमले अनुबन्ध गरेको छ। यी खेलाडीहरूमा धेरै टिमले चासो देखाएपछि लक्की ड्र मार्फत टिम तोकिएको थियो। काठमाडौं गोर्खाजले आठ टिम मध्ये लक्की ड्रमा सफलता पाएर आदिल अन्सारीलाई पाएको हो। तीन वर्षअघि फिक्सिङ आरोपपछि निलम्बित भएपनि अदालतले सफाइ दिएपछि आदिलले यस सिजन एनपिएलमा खेल्ने अवसर पाएका छन्।

लिलामीमा ए श्रेणी खेलाडीको न्यूनतम मूल्य १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म रहेको छ भने बी श्रेणीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ, सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँ तोकिएको छ।

अहिलेसम्म अनुबन्ध भएका खेलाडीहरूमा चितवन राइनोजका देव खनाल र अर्जुन साउद, विराटनगर किङ्सका सूर्य तामाङ र साहिल पटेल, लुम्बिनी लायन्सका दिलिप नाथ र शेर मल्ल, सुदूरपश्चिम रोयल्सका हेमन्त धामी, टेकबहादुर रावत र दिपेन्द्र थापा, काठमाडौं गोर्खाजका उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल अन्सारी, पोखरा एभेन्जर्सका अभिषेक तिवारी, अर्जुन कुमाल र कृष्ण पौडेल, जनकपुर बोल्ट्सका सचिन भट्ट, आदित्य महता र मयन यादव, कर्णाली याक्सका पवन सर्राफ, इमरान शेख, दिपक डुम्रे र युवराज खत्री रहेका छन्।

सेयर गर्नुहोस् :