समाचार

एमसीसीको अनुदानमा १५.४५ करोड डलरको विद्युत् प्रसारण लाइन निर्माणमा सम्झौता

काठमाडौँ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा दुई खण्डको विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले बिहीबार विज्ञप्ति जारी गर्दै १५.४५ करोड अमेरिकी डलर मूल्यको सम्झौतासहित परियोजना पुनः सक्रिय भएको जानकारी दिएको हो।

एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमध्ये दुई खण्ड निर्माणका लागि सम्झौता भएको एमसिए नेपालले जनाएको छ।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली नयाँ बुटवल प्रसारण लाइनको सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरिएको छ।

सम्झौताअनुसार १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन कार्यहरू सम्पन्न गरिनेछन्।

एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “यी सम्झौताले एमसीसीको प्राथमिकता र नेपालको विकास लक्ष्यहरूसँगको संयुक्त प्रयासलाई पुष्टि गर्दछ। नेपालको बिजुली पहुँच र विश्वसनीयता सुधार गर्न तथा क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौँ।”

एमसिए नेपालका अनुसार सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ अनुमान गरेकाे छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :