काठमाडौं : नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएकै एक दिनमै खारेज गरेको छ। यादवमाथि व्यक्ति हत्या अभियोग लागेकाले पार्टीले यस्तो निर्णय गरेको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बिहीबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा राजनीतिक छलफलमा व्यस्त रहँदा पार्टीका केही सदस्यहरूले महोत्तरीका यादवलाई कार्यकक्षभित्र प्रवेश गराएर सदस्यता प्रदान गर्न आग्रह गरे। सभापतिले आग्रह अनुसार यादवलाई सदस्यता दिएका थिए।
तर पछि बुझ्दा यादवमाथि फौजदारी कानूनी कारबाही प्रक्रिया भइरहेको जानकारीमा आएपछि पार्टीले सदस्यता तत्काल खारेज गरेको हो। यस विषयमा गृह प्रशासनको ध्यानाकर्षण गराइएको पनि कांग्रेसले जनाएको छ।
यादवमाथि महोत्तरीमा असई थम विकको हत्यामा आरोपी रहेको जानकारी छ। पछिल्ला वर्षमा उनी सक्रिय राजनीतिमा थिएनन्। कांग्रेसले यादवलाई प्रवेश गराउन ल्याउने साथीहरूबाट थप जानकारी लिइरहेको छ।





