काठमाडौं : गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधनको प्रस्ताव गरिएको स्पष्ट गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने प्रावधान भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा धेरैलाई नागरिकता बिहीन बन्नुपर्ने अवस्था आएको बताए।
उनका अनुसार बाबु विदेशी भएर फर्किएको वा स्वदेशमै रहेर पनि सहयोग नगर्ने अवस्थामा आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकको मुख्य उद्देश्य हो।
गृहमन्त्री लेखकले बाबु बेपत्ता भएको वा पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने प्रावधान पनि विधेयकमा समावेश भएको बताए। साथै, समितिका सदस्यलाई कमजोरी सुधारेर विधेयक छिटो पारित गर्न आग्रह गरे।





