समाचार

टप एन्ड टी-२० : बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको चुनौती

डार्विन (अस्ट्रेलिया) : टप एन्ड टी-२० शृंखलाको खेलमा बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार मरारा क्रिकेट ग्राउण्ड -२ मा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोड्यो।

बंगलादेशका जिसन आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७३ रनको पारी खेले। उनले पाँच छक्का र चार चौका प्रहार गरे। अफिफ हुसेन ४८ रनमा अविजित रहे भने मोहम्मद नइमले २५ तथा सइफ हसनले ११ रन जोडे।

नेपालका बलरमध्ये रिजन ढकालले दुई विकेट लिन सफल भए। करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे।

यसअघि दुबै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए। नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले पराजित भएको थियो। अब दुबै टिम पहिलो जितको खोजीमा मैदानमा उत्रिएका छन्।

सेयर गर्नुहोस् :