समाचार

तीज तयारी : पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइनकाे व्यवस्था

काठमाडौँ : हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाका लागि व्यवस्थापन पूरा गरिएको छ। पशुपति क्षेत्र विकास कोषले बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी दर्शनको सुविधा मिलाउने निर्णय गरेको छ।

पशुपति क्षेत्रमा तीज तयारीबारे आइतबार पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। उनले भने, “चर्को घाममा लामो समय लाइनमा बस्न नपर्ने गरी दर्शन एकदेखि डेढ घण्टाभित्र सकिने व्यवस्था मिलाइएको छ।”

कोषका अध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरका चारै ढोका बिहान ३ बजेबाटै खुला गरिने जानकारी दिनुभयो। कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुण कुमार श्रेष्ठले भने तीजमा समाचार संकलन गर्न आउने पत्रकारहरूलाई सम्बन्धित परिचयपत्रको आधारमा मन्दिरको मुख्य क्षेत्रमा प्रवेश गर्न दिइनेछ।

सूचना अधिकारी अनिता भट्टले तीजमा सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन, पार्किङ, स्वास्थ्य सेवा, सरसफाइ र जुत्ता,चप्पलको व्यवस्थापन समेत सुनिश्चित गरिएको बताए । पशुपति क्षेत्रमा तयारी लगभग सकिएको छ र व्यवस्थापन पुरा भएकाले व्रतालु महिलाले सहज र सुरक्षित दर्शन गर्न सक्नेछन्।

सेयर गर्नुहोस् :