समाचार

सरकारको निर्देशन: फेसबुक सहित सबै सामाजिक सञ्जाल ७ दिनभित्र दर्ता गर्नु

काठमाडौं :नेपाल सरकारले फेसबुक सहितका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ७ दिनभित्र नेपालमा दर्ता (सूचीकरण) गराउन निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै गत सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरिसकेको जानकारी दिएको हो।

सर्वोच्च अदालतले विदेशस्थित अनलाइन र सामाजिक सञ्जाल प्लेटफर्महरूको नेपालमा नियमन र सूचीकरण गर्न आदेश दिएसँगै सरकारले ठोस कदम चाल्न थालेको हो।

मन्त्रालयले नेपालभित्र सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्मले अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने, नेपालस्थित सम्पर्क व्यक्ति तोक्नुपर्ने, गुनासो सुन्ने निकाय तोक्नुपर्ने र स्वनियमन प्रणालीको व्यवस्था गर्नुपर्ने स्पष्ट पारेको छ।

यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत नेपालमा प्रचलित सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल सूचीकरण गरी सूचना प्रविधि मन्त्रालयमार्फत नियमन गर्ने निर्णय गरेको थियो।

नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :