पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न ठहर गरिएका सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरकुमार राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
बमजन सहकारीका प्रमुख अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान समेत हुन्। प्रहरी अनुसन्धानले सहकारीमा करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको थियो।
अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ। साथै सहकारीबाट अपचलन भएको १ अर्ब ५१ करोड रुपैयाँको संयुक्त अभियोग पनि उनीमाथि छ। तर अदालतमा बयान दिँदै बमजनले आफू निर्दोष भएको दाबी गरेका छन्। बमजनले आइतबार धरौटी बुझाएपछि अदालतले उनलाई धरौटी तारेखमा रिहा गर्यो,” कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।
मुख्य अभियुक्त जीबी राई हाल सम्म फरार छन् भने केही अभियुक्तलाई धरौटीमा रिहा गरिएको छ। केही भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।





