खेलकुद

रवीन्द्र ढाटः एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर

काठमाडौं :नेपाली एमएमए इतिहासमा नयाँ अध्याय कोरेका छन् रवीन्द्र ढाटले। म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेर एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली बनेका छन्।

‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने कोसिस गरेपनि रवीन्द्रले संयमित रणनीति र शान्त मानसिकताले खेललाई आफ्नो पक्षमा पारे। तेस्रो राउण्डमै खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्दै कोरेनलाई गम्भीर संकटमा पार्दा अन्ततः निर्णायक कम्बिनेसन हान्दा रेफ्रीले फाइट रोके र उनलाई टीकेओमार्फत विजेता घोषणा गरियो।

यस ऐतिहासिक जितपछि रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ। सोही क्रममा उनले कोरेनको पाँच खेलको लगातार जितको यात्रा तोड्न सफल भए।

विजयी क्षणमा रंगशाला उत्साहले गुञ्जिएको थियो। पिजरमाथि गर्वका साथ नेपाली झन्डा फहराइयो र रवीन्द्रको नाम नेपाली खेलकुदको इतिहासमा सुनौलो अक्षरमा अंकित भयो।

सेयर गर्नुहोस् :