काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट करिब साढे २ करोड रुपैयाँ नाफा कमाएको छ।
क्यानले बिहीबार सम्पन्न बोर्ड बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ। यस अनुसार ७ करोड ५३ लाख रुपैयाँ नाफा भएको क्यानले जनाएको छ।
उक्त नाफामध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ। बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई उपलब्ध गराएपछि क्यानको शुद्ध आम्दानी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ भएको हो।
गभर्निङ काउन्सिलले प्रस्तुत गरेको आय-व्यय प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिले अध्ययन र छलफलपछि अनुमोदन गरेको क्यानले जनाएको छ। यसलाई आगामी संस्करणहरूमा अझ प्रभावकारी व्यवस्थापनका लागि आधार मानिने क्यानको भनाइ छ।
बोर्ड बैठकमा करिब एक दर्जन एजेन्डाहरू रहे पनि दिनभरको बैठकपछि क्यानले एनपीएलसम्बन्धी विवरणलाई प्राथमिकता दिँदै राति विशेष प्रेस विज्ञप्ति जारी गरेको हो।





