राजनीति

रास्वपाबाट रुपन्देही-३ उपनिर्वाचनमा उम्मेदवारीका लागि ९ जनाको आवेदन

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो १७ कात्तिकमा हुने रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आवेदन आह्वान गरे सँगै नौ जनाले उम्मेदवारीका लागि आफ्नो नाम पेश गरेका छन्।

लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यका अनुसार साउन ७ देखि २१ गतेसम्मको अवधिमा उम्मेदवार बन्न इच्छुक ९ जनाले पार्टीमा आवेदन दिएका हुन्। रास्वपाले आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी दाबी गर्ने आकांक्षीहरूको नामावली सार्वजनिक गरेको छ। सार्वजनिक सूचिमा सुलभ खरेललाई पहिलो स्थानमा राखिएको छ। उम्मेदवारीका आकांक्षीहरू : सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन।

पार्टीले भदौ १५ गतेभित्र अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ। उम्मेदवार चयन पार्टीको आन्तरिक प्रक्रिया, क्षेत्रीय सन्तुलन, योग्यता र जनपक्षीय छविको आधारमा गरिने बताइएको छ।

रास्वपाले स्थानीय तहदेखि संघीय तहसम्म नयाँ पुस्ता र पारदर्शी राजनीतिका पक्षधरहरूलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गर्दै आएको छ। रुपन्देही-३ उपनिर्वाचन पार्टीका लागि महत्वपूर्ण हुने भएकाले उम्मेदवार चयनमा विशेष ध्यान दिइने पार्टी स्रोतको भनाइ छ।

सेयर गर्नुहोस् :