समाचार

मानवअधिकार आयोगको स्थलगत अनुगमन, रवि लामिछाने आधारभूत अधिकारबाट वञ्चित

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारमा आधारभूत मानवीय सुविधा समेत नपाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगकी आयुक्त लिली थापा र इन्सेककी प्रतिनिधि रिमा बिसी सहितको टोलीले सोमबार स्थलगत अनुगमन गर्दा लामिछानेको कोठादेखि समग्र कारागारसम्मको अवस्था अत्यन्तै दयनीय भेटिएको हो। अनुगमन टोलीका अनुसार, २५० कैदीको क्षमता भएको भैरहवा कारागारमा हाल ७०० भन्दा बढी कैदीबन्दी छन्। भीडभाडका कारण शौचालयको संख्या अपर्याप्त छ, रहेका पनि फोहोर र अस्वच्छ अवस्थामा छन्।

लामिछानेलाई एसी बिनाको कोठामा एउटा ठूलो स्ट्यान्ड पंखा र एउटा टेबल पंखासहित राखिएको छ। झ्याल प्लाइउडले पूरै बन्द गरिएकाले कोठामा स्वच्छ हावा प्रवेश गर्दैन। कारागार प्रशासनले ‘सर्पको जोखिम’ र ‘बाहिरबाट ढुंगा प्रहार’ को कारण देखाए पनि आयोगको आग्रहपछि हावाका लागि केही खुला गर्ने प्रतिवद्धता जनाएको छ। कोठाभित्र ढोका नभएको खुला शौचालय छ भने सुत्न सानो खाट र किताब राख्ने टेबलबाहेक अन्य सुविधा छैन। लामिछानेलाई पत्रपत्रिका पढ्न नदिइएको भए पनि एउटा सानो रेडियो भने छ। उनले खानेकुरा भने सन्तोषजनक भएको बताएका छन्। सबैभन्दा गम्भीर पक्ष, अदालतले लामिछानेलाई अन्यत्र स्थानान्तरण गर्न दिएको आदेश सरकारले कार्यान्वयन नगरेको आयोगको भनाइ छ।

आयोगले भैरहवा कारागारको भीडभाड र न्यूनतम सुविधाको अभावलाई मानवअधिकारको गम्भीर उल्लंघन भन्दै तत्काल सुधारका लागि कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने जनाएको छ।

सेयर गर्नुहोस् :