कञ्चनपुर:कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियान अन्तर्गत बेदकोट नगरपालिका–१० र कृष्णपुर नगरपालिका–१ मा गरी ३९ छाउगोठ भत्काइएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट-१० को निगाली र भेन्टी बजार क्षेत्रमा २३ वटा तथा कृष्णपुर–१ मा १६ वटा छाउगोठ भत्काइएको हो। स्थानीय जनप्रतिनिधि, संघसंस्था, प्रहरी र बासिन्दाको सहभागितामा उक्त कार्य सम्पन्न गरिएको उनले बताए।
यो पहल गत असारमा कृष्णपुर-१, निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट मृत्यु भएपछि सुरु भएको हो। घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई तत्काल छाउगोठ भत्काउन निर्देशन दिएको थियो।
बेदकोट-१० का वडाध्यक्ष रतनसिंह विष्टका अनुसार वडा ४ र १० मा २३ छाउगोठ भत्काइएका छन्। “हामीले हटाएका छौँ तर फेरि बनाइदिन सक्ने चिन्ता छ,” उनले भने, “त्यसैले प्रभावित परिवारलाई अभिमुखीकरण गर्ने तयारीमा छौँ।” उनले कुरीतिबारे निरन्तर जनचेतना आवश्यक रहेको जोड दिए।
यस्तै, कृष्णपुर-१ का वडाध्यक्ष मोहन बस्नेतले आज मात्रै १६ छाउगोठ भत्काएको जानकारी दिए। उनका अनुसार, यसपटक नागरिक सचेत भएका कारण पहिलाजस्तो अवरोध भेटिएको छैन।
गत वर्षदेखि वडाले यस्ता संरचना भत्काउने प्रयास थाले पनि केही स्थानीयको विरोधका कारण रोकिएको थियो। तर, असार अन्तिम साता कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानूनी कारबाही र १० हजार रुपैयाँ जरिवानाको चेतावनी दिएको थियो।
यो अभियानले कञ्चनपुरमा छाउपडी प्रथा अन्त्यतर्फ महत्त्वपूर्ण कदम अघि बढाएको स्थानीय सरोकारवालाको भनाइ छ।





