२८ साउन, अछाम
अछाम जिल्लाका प्रखर कम्युनिष्ट अगुवा तथा दीर्घकालीन सामाजिक सेवामा समर्पित नेता वीरबहादुर साउँदको ५८ वर्षको उमेरमा यही २०८२ साल साउन २७ गते बयालपाटा अस्पतालमा असामयिक निधन भएको छ।
मेल्लेख गाउँपालिका-४ कुस्कोट निवासी साउँद वि.सं. २०५४ सालमा तत्कालीन कुस्कोट गाउँ विकास समितिको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। यस्तै, वि.सं. २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मेल्लेख गाउँपालिका-४ का वडा अध्यक्षका रूपमा निर्वाचित भई जीवनको अन्तिम क्षणसम्म जनसेवा र विकासका कार्यमा सक्रिय रहनुभयो।
उहाँ नेकपा (एमाले)का पूर्व जिल्ला कमिटी सदस्य समेत रहनुहुँथ्यो। कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान, त्याग र समर्पण अमूल्य मात्र नभई मेल्लेख गाउँपालिका र सम्पूर्ण अछाम जिल्लाका लागि प्रेरणादायी रहेको सहकर्मीहरूले बताएका छन्। साउद समर्पित राजनीतिज्ञ तथा समाजसेवीको रूपमा परिचित थिए र स्थानीय तहमा निर्वाचित भएर जनसेवामा सक्रिय थिए। उनका योगदानहरू स्थानीय विकास र समृद्धिका लागि महत्वपूर्ण मानिन्छन्।
उहाँको निधनले पार्टी, स्थानीय समाज र सम्पूर्ण क्षेत्र शोकाकुल बनेको छ। यस दुःखद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै दिवङ्गत आत्माको चिरशान्तिको लागि गहिरो श्रद्धाञ्जली अर्पण गरिएको छ।
आज २०८२ साल साउन २८ गते मेल्लेख गाउँपालिका–४ कुस्कोट स्थित लिङ, रवामा वीरबहादुर साउँदको अन्तेष्टि गरिने कार्यक्रम तय गरिएको छ। अन्तेष्टि कार्यक्रममा पार्टीका प्रतिनिधिहरू, स्थानीय प्रशासन, शुभचिन्तक, सम्पूर्ण परिवार र नातेदारहरूको समेत उपस्थित रहने छ।





