समाचार

बाजुराको बाम खोलामा बाढी: बस्ती, पुल र विद्यालय बगायो

बाजुरा : लगातारको वर्षापछि हिमाली गाउँपालिका -१, बिच्छ्याको बाम खोलामा आएको भीषण बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमिन, पुल, विद्यालय र जलविद्युत आयोजना लगायतका संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार रातिदेखि पानीको सतह असामान्य रूपमा बढ्दा खोला किनारका घरहरू र खेतबारी बगाएका छन्। स्थानीय साजन थापाले बाढीले विशेषगरी खोला किनारको बस्ती, खेतबारी, पुल र जलविद्युत आयोजना पूर्ण रूपमा ध्वस्त पारेको बताए।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार बिच्छ्या खोलाले वडा नं. १, ३ र ५ मा क्षति पु¥याएको छ। “हालसम्म बिच्छ्या खोला किनारका ८ – १० घर बगाएको प्रारम्भिक जानकारी छ। खेतीयोग्य जमिनको क्षतिको विवरण भने संकलन भइरहेकाले निश्चित तथ्याङ्क आउन बाँकी छ,” मल्लले भने।

उनका अनुसार बिच्छ्यामा टेलिफोन तथा मोबाइल सञ्जाल पूर्णरूपमा अवरुद्ध भएकाले विवरण संकलनमा कठिनाइ भइरहेको छ। गाउँपालिकाको टिम घटनास्थलतर्फ प्रस्थान गरिरहेको र विस्तृत विवरण घटनास्थलमै पुगेर मात्र पुष्टि हुने उनले बताए।

घटनापछि उद्धार र अनुगमनका लागि नेपाल प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभए पनि, सञ्चार सुविधा नहुँदा जानकारी अद्यावधिक गर्न कठिनाइ भइरहेको प्रहरीले बताएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी रहेकाले थप बाढी र पहिरोको जोखिम रहँदा स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए।

सेयर गर्नुहोस् :