बर्दिया : गुलरिया -३ का किसान प्रमोदकुमार यादव र अन्य कृषकहरू धान रोपाइँ सके पनि आवश्यक मल नपाउँदा चिन्तित भएका छन्। नगर क्षेत्रका सहकारी तथा डिपोहरूमा मल खोजे पनि उपलब्ध नभएको स्थानीयले गुनासो गरेका छन्।
यादवका अनुसार, “पछिल्लो वर्ष नेपालमा मल नपाउँदा भारतबाट ल्याएर गुजारा चलाउनुपर्थ्यो। यस वर्ष भारतीय बजारमा मलको मूल्य अत्यधिक महँगो भएकाले सीमापारि मल खरीद गर्न पनि सक्दैनौं। सरकारले किसानलाई मल उपलब्ध गराउनुपर्ने हो तर कुनै व्यवस्था छैन।”
गुलरिया–७ का किसान सुभाषकुमार पोखरेल पनि एक महिनादेखि मलको पर्खाइमा छन्। सहकारीमा मल आएको खबर पाएपछि दिनभरि लाइन लागे पनि आवश्यक मल पर्याप्त रूपमा पाएको छैन। एक बोरा मल ४ जना किसानमा बाँड्नुपरेको उनीहरूले बताए।
सरकारी स्तरमा, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आवश्यक रासायनिक मल आपूर्ति गर्न नसक्दा समस्या गहिरिएको छ। बर्दियामा प्रत्येक वर्ष धान खेतीका लागि करिब १२ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ। तर, हालसम्म मात्र ६८३.६८१ मेट्रिक टन मात्रै आएको कृषि सामग्री लिमिटेड बर्दियाका प्रमुख लालबहादुर थारुले जानकारी दिएका छन्।
किसानहरूले मल अभावको विरोधमा जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले ‘मल दे, खेती बचाउ’ र ‘कृषिमन्त्री राजीनामा दे’ जस्ता नाराबाजी गर्दै तत्काल मल आपूर्ति र दीर्घकालीन समाधानको माग राखेका छन्। ज्ञापनपत्र गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र कृषि मन्त्रालयमा पठाइएको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भारतीय मल गुणस्तरीय नहुन सक्ने भएकाले वैकल्पिक मान्यता प्राप्त मल साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत उपलब्ध गराउने पहल गर्न सकिने बताए।





