दैलेख : कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि करिडोर निर्धारण गर्दै सामाजिक, स्वास्थ्य र शिक्षासम्बन्धी सेवामा पहुँच सुनिश्चित गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा यस कोरिडोर निर्माण गर्ने योजना अघि बढाइएको हो।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार, राउटे समुदायको पछिल्लो १० वर्षको बसोबासस्थल नक्सांकन र राउटे नीति, समन्वय समिति तथा मानव अधिकार आयोगका सिफारिसका आधारमा करिडोर निर्माण हुने छ। यससँगै राउटेका बालबालिका शिक्षामा, समुदायका नागरिक स्वास्थ्य सेवा र पोषणयुक्त खाद्य सामग्रीमा पहुँच पाउनेछन्।
राउटे समुदाय नेपालको एकमात्र घुमन्ते फिरन्ते समुदाय हो, जसको जनसंख्या हाल करिब १३५ रहेको छ। मानव अधिकार आयोगको अध्ययन अनुसार स्वास्थ्य, कुपोषण, आधारभूत शिक्षा र पञ्जीकरण अभावका कारण समुदाय संकटमा छ। सरकारले सामाजिक सुरक्षा भत्ता र परिचयपत्र उपलब्ध गराएर संरक्षणका उपाय अघि बढाइरहेको छ।
राउटेहरूको जीविकोपार्जन मुख्यतया काठका सामग्रीहरू बिक्री वा साट्नमा आधारित छ र उनीहरू स्थायी कृषि वा रोजगारीमा संलग्न छैनन्। सरकारले करिडोर निर्माणसँगै घुम्ती सेवा केन्द्र, विद्यालय र स्वास्थ्य सुविधा विस्तार गर्ने योजना अघि सारेको छ।





