काठमाडौं :भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा विगतका आयोगहरूबाट थाती रहेका जग्गा सम्बन्धी समस्या समाधानका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
आयोगले आज जारी गरेको दुई छुट्टाछुट्टै सूचनामा जग्गा प्राप्ति, अव्यवस्थित बसोबासीको व्यवस्थापन र पुराना मुद्दा टुंग्याउने उद्देश्यले आवेदन माग गरेको हो।
नयाँ निवेदनका लागि तोकिएको फाराम भरी स्थानीय तहका तोकिएका स्थानमा खटिएका लागत सङ्कलकमार्फत आवेदन दिन सकिनेछ। त्यसैगरी, विगतका आयोग, समिति वा कार्यदलले वितरण गरेका जग्गाको स्वामित्व, दर्ता स्रेस्ता वा नक्सा प्रमाणीकरणसम्बन्धी समस्या भएमा आवश्यक प्रमाणपत्रसहित जिल्ला आयोग सचिवालयमा निवेदन दिनुपर्नेछ।






