जुम्ला :जुम्लादेखि बडिमालिका मन्दिरमा पूजा गरेर आएको सरकारी टोली शुक्रबार सदरमुकाम खलंगामा भव्य स्वागतका साथ फर्किएको छ। १८ दिनअघि प्रस्थान गरेको टोलीलाई नेपाली सेनाको टुकुडीले सलामी दिएको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र बडिमालिका पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी)सहितको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, डिएसपी रबिन बाबु रेग्मी लगायतका उच्च सरकारी अधिकारीहरूले स्वागत गरे।
टोलीले बडिमालिका, मुगु हुँदै कनकासुन्दरी मन्दिरमा पूजा गरेर फर्किएको थियो। सेनाको सलामीपछि टोलीले ल्याएको डोली बाजागाजासहित खलंगा बजार परिक्रम गरेर चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिकामा पुर्याइएको थियो। डोली विधिवत् रूपमा पुजारी उपाध्यायद्वारा दरबार मालिकामा बुझाइएको थियो।
स्थानीय भक्तजन पनि दुर्गम गाउँबाट सदरमुकामसम्म आइपुगेर टोलीलाई फूलमालासहित अबिर र शुभकामना व्यक्त गरेका थिए। पुजारी उपाध्यायले जुम्लाबासीले दिएको ध्वजा र अक्षता नासो पुर्याएर सबैको मनोकामना पूरा होस् भन्ने कामना गर्दै फर्किएको बताए।
परम्पराअनुसार, नाग पञ्चिमीको दिन जुम्लाको टोली बडिमालिकाका लागि प्रस्थान गर्ने चलन रहँदै आएको छ। प्रारम्भमा तत्कालीन बडा हाकिमको नेतृत्वमा हुने पूजा अहिले जिल्ला प्रशासन कार्यालयको मातहतमा सञ्चालन भइरहेको छ। टोली प्रायः कृष्ण जन्माष्टमीको अघिल्लो दिन फर्कन्छ र त्यसपछि “लाखे काट्ने” धार्मिक चलन पालन गरिन्छ।
हरेक वर्ष भगवतीको लागि सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र तयार पारेर मन्दिरमा लगिने चलन पनि रहँदै आएको छ।





