काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका नाममा जहाँसुकै लैजाँदा पनि नडराउने दृढता व्यक्त गरेका छन्। शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै गर्दा भैरहवा विमानस्थलमा भएको छोटो भेटमा उनले आफ्नो उच्च मनोबल झल्काउँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिनँ। यो मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन्, जता सक्छन् लगून्, मलाई फरक पर्दैन।”
कृष्ण जन्माष्टमीकै दिन कारागार सारिएका लामिछानेले रुपन्देही कारागारमा बिताएको १२६ दिनलाई स्मरण गर्दै एक सन्देश पनि छोडेका छन्। उनले कोठाको भित्तामा लेखेका शब्दलाई झाले यसरी व्याख्या गरे — “अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।”
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको थियो। करिब ४० दिनअघि नै अदालतले कारागार सरुवाको अनुमति दिए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन।
तर, लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको गुनासो गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी दिएपछि सरकारले उनलाई ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो।





