काठमाडौं : मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा गत आर्थिक वर्षमा ठूलो मात्रामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार, खुद नाफा करिब ५७ प्रतिशत घटेर जम्मा २ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा टेलिकमले ६ अर्ब २३ करोड नाफा कमाएको थियो।
नाफा घट्नाको मुख्य कारण टेलिकमको वित्तीय आम्दानीमा आएको कमी हो। मुद्दती निक्षेपमा लगानी घट्नुका साथै ब्याजदर कम हुँदा वित्तीय आम्दानी अघिल्लो वर्षको ६ अर्ब ७८ करोडबाट घटेर गत आर्थिक वर्षमा ३ अर्ब ७० करोडमा खुम्चिएको छ।
सेवा बिक्रीवापतको आम्दानी समेत थोरै कमी भएको छ। अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५६ करोड रुपैयाँ रहेको आम्दानी गत वर्ष ३४ अर्ब ५३ करोडमा झरेको छ । कम्पनीको जगेडा कोष हाल ७१ अर्ब १५ करोड रुपैयाँ रहेको छ। तर, नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) मा ठूलो कमी आएको छ। अघिल्लो वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेको वार्षिक EPS घटेर गत आर्थिक वर्ष १४ रुपैयाँ ८२ पैसामा पुगेको छ। प्रतिसेयर नेटवर्थ पनि घटेर ४९५ रुपैयाँमा सीमित भएको छ।
नाफा घटेपनि टेलिकमको सेयर मूल्य बजारमा अझै उच्च छ। नेप्सेमा कम्पनीको सेयर हाल प्रतिकित्ता ८७६ रुपैयाँमा कारोबार भइरहेको छ।




