अस्ट्रेलिया:अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि बलियो लक्ष्य पाएको छ। मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितका लागि १७६ रनको चुनौती दिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको प्रभावशाली योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि शतकीय साझेदारी भएको थियो।
नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट झारे भने सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिएका थिए। दुई ब्याटर रनआउट भएका थिए।
यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग र दोस्रो खेलमा बंगलादेश एसँग पराजित भइसकेको छ। अब उसले बाँकी तीन खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ ।





