काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी निर्माणको तयारी सुरु भएको जानकारी दिए।
प्रसाईंका अनुसार आफूले विगतमा अभियान चलाउँदा सरकारी अवरोध तथा व्यक्तिगत गतिविधिमा नाकाबन्दीका जस्ता व्यवहार सहनु परेको थियो। “राजनीतिक चेत भएका सफल व्यवसायीका रूपमा अब मेरो प्राथमिकता परिवार मात्र नभई नेपाल र नेपालीको हितमा केन्द्रित हुनेछ। देशलाई बिगारेको राजनीति सुधार्न अब प्रत्यक्ष राजनीतिको बाटो रोज्न बाध्य भएका छौं ” उनले भने।
प्रसाईंले छिट्टै दलको नाम सार्वजनिक गर्ने बताएका छन्। उनका अनुसार आफू र आफ्ना अभियानका सहकर्मीहरूले औपचारिक रूपमा नयाँ शक्ति निर्माण गर्ने र त्यसैका लागि पार्टी गठनको घोषणा गरिएको हो।





