काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको हितमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ।
बिहीबार आयोजित समारोहमा काउन्सिल एडलार्ज एरिन मर्फीले रानालाई सम्मानपत्र प्रदान गरेका हुन्। काउन्सिलका अनुसार रानाले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर दिलाउँदै सकारात्मक परिवर्तन ल्याएकी छिन्।
कार्यक्रममा रानाले समाज सेवामा बिताएको समय, नेपालले महिला तथा बालबालिकाको क्षेत्रमा हासिल गरेको प्रगति र समानुपातिक समावेशिताबारे धारणा व्यक्त गरिन्।
उपसभामुख राना हाल बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ शीर्षकको उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन अमेरिका भ्रमणमा रहेकी छिन्।





