काठमाडौं : राजधानी उपत्यकामा परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ।
विमानस्थलका महानिर्देशक हंसराज पाण्डेका अनुसार वर्षाको तीव्रताले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर परेको छ।
“आज वर्षा असाध्यै भयो। उडान अवरुद्ध हुने, सञ्चालन हुने भइरहेको छ। दुई पटक जहाजहरूलाई आकाशमै होल्ड गर्नुपरेको छ,” उनले जानकारी दिए।
विदेशबाट काठमाडौं आउँदै गरेका केही जहाजलाई सुरक्षित अवतरण सम्भव नभएकाले आकाशमै पर्खाइमा राखिएको छ। यस्तै विराटनगर, भरतपुर, पोखरा लगायतका विमानस्थलबाट उडान भइसकेका जहाज पनि अस्थायी रूपमा गन्तव्य विमानस्थलमै रोकिएका छन्।
वर्षा क्रम जारी रहेकाले अझै केही समयसम्म उडान तालिका प्रभावित हुने सम्भावना रहेको विमानस्थल स्रोतले जनाएको छ।





