काठमाडौँ : नेपालको संविधान घोषणाको १० वर्षको अवसरमा भव्य उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ।
२०७२ असोज ३ गते जारी भएको संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानीको प्रतिफल हो। यस वर्ष संविधानको दसौं वार्षिकोत्सवमा नेपाल सरकारले विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले असोज २, ३ र ४ गते नेपालभित्रका साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीजस्ता विविध कार्यक्रम गरी त्रिदिवसीय उत्सव मनाउने निर्णय गरेको छ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतका सदस्यहरू रहेका छन्। बैठकले विषयगत उपसमितिहरू पनि गठन गरेको छ।
असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारण उपस्थितिमा मूल समारोह हुने भएको छ। त्यस्तै, राष्ट्रिय गान र राष्ट्रभक्तिको सांगीतिक महोत्सव जनस्तरका झाँकी प्रदर्शनी तथा विद्यालय, वडा तहमा विविध कार्यक्रम आयोजना हुने छन्।
प्रधानमन्त्री ओलीले संविधान दिवसलाई विकास, राष्ट्रियता, आधुनिकता, महिला सशक्तिकरण, समावेशीता, लोककल्याणकारी राज्य र संस्कृति जस्ता पक्षसँग जोडेर मनाउन आग्रह गर्दै, जनतालाई संविधानको उपलब्धि र महत्वसँग प्रत्यक्ष जोडिन प्रेरित गरे।





