धनगढी : गेटामा मेडिकल कलेज सञ्चालन र एमबीबीएसको पढाइ सुरु नभएसम्म संघर्ष समितिले आफ्नो आन्दोलन स्थगित नगर्ने जनाएको छ। समितिले भौतिक पूर्वाधार निर्माण भइसकेको र विश्वविद्यालय ऐन अनुसार पदाधिकारी नियुक्त गरी कम्तिमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।
६ सय शय्याको क्षमता भएको अस्पताल भवनमा हाल ५० शय्या मात्र सञ्चालन भएपछि सुदूरपश्चिमका नागरिकलाई सेवा पुग्न नसकेको आरोप संघर्ष समितिले लगाएको छ। समितिका सदस्य बिनोद विष्टले भने, “भौतिक पूर्वाधार तयार छ, ऐन बनेको छ। पदाधिकारी नियुक्त गरेर एमबीबीएसको पढाइ सुरु गर्नुपर्छ। कम्तिमा ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ।”
गेटामा मेडिकल कलेज स्थापना विषय २०४८ सालदेखि उठ्दै आएको हो। २०५६ सालमा शङ्कराचार्यले भवनको शिलान्याश गरेका थिए भने २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले औपचारिक माग राख्दै आएको छ। अहिले ७७ बिघा क्षेत्रमा ४३ भन्दा बढी भवन निर्माण भइसकेका छन्।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले भने, “देशका अन्य भागमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र ठूला अस्पताल सञ्चालन भइरहेका छन्। तर सुदूरपश्चिममा पर्याप्त सुविधा भएको अस्पतालसम्म चलाइएको छैन। विद्यार्थीले एमबीबीएस पढ्न सक्षम नभएसम्म आन्दोलन जारी रहनेछ।”
समितिले सरकारले स्वास्थ्य चौकी स्तरको अस्पताल सञ्चालन गर्नु भन्दा पहिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनमा ध्यान दिनुपर्ने र विद्यार्थीका लागि पढाइ वातावरण तयार पार्नुपर्ने आग्रह गरेको छ।





