काठमाडौं :मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले उपसभामुख इन्दिरा रानासँग सम्बन्धित संस्थाबाट नेपाल बाल मन्दिरका बालबालिकाको विवरण मागेको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ‘बन्दी सहायता नेपाल’सँग बालबालिकाको अवस्थाबारे जानकारी माग्दै पत्राचार गरिएको र सो संस्थाबाट जवाफ समेत प्राप्त भएको छ। उनले भने, “हामीले अनुसन्धानका क्रममा पत्राचार गरेका थियौँ। सो संस्थाले पनि अभिभावकको सहमति अनुसार बालबालिकालाई स्थानान्तरण गरिएको जानकारी दिएको छ।”
रानालाई उपसभामुख पदबाट हटाउनेबारे सत्ता गठबन्धनभित्र छलफल भइरहेका बेला, सिफलस्थित नेपाल बाल संगठनको बालगृहबाट २०७२ साल कात्तिकमा पाँच बालबालिका गैरकानुनी रूपमा लगिएको आरोप फेरि सतहमा आएको हो। ती बालबालिका अहिलेसम्म फिर्ता नआएको विषयले उनको भूमिका थप विवादित बनेको छ।
यसअघि, अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको प्रसंगले पनि रानामाथि प्रश्न उठाइएको थियो।
रास्वपाबाट प्रतिनिधित्व गर्ने राना ‘बन्दी सहायता नेपाल’ नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्। उनले सन् २००० मा यो संस्था स्थापना गरेकी थिइन्।





