काठमाडौं : काठमाडौं उपत्यकामा वैदेशिक रोजगारीका नाममा ३० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार सोमबार विशेष टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डडेल्धुराका २४ वर्षीय सुरेश नाथ र संखुवासभाका ४३ वर्षीय धनबहादुर राई छन्। नाथले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितसँग १७ लाख १ हजार रुपैयाँ लिएका थिए भने राईले क्रोएसिया पठाउने बहानामा एक जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ असुली गरेका थिए। रकम उठाएपछि दुवैले सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ। उजुरीका आधारमा खटिएको टोलीले सुरेशलाई नयाँ बसपार्क क्षेत्रबाट र धनबहादुरलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवैलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।





