काठमाडौं : फुटबलका लागि नेपालको मुख्य मैदान दशरथ रंगशालालाई एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले पुनः अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि अयोग्य ठहर गरेको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीले यही अक्टोबर १४ र नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटको खेल दशरथ रंगशालामै खेल्ने तालिका थियो। तर एएफसीको निरीक्षणपछि मैदानको अवस्था, सुरक्षा प्रबन्ध र आवश्यक सुविधा अपर्याप्त ठहरिएपछि नेपाललाई वैकल्पिक स्थान खोज्न निर्देशन दिएको हो।
एएफसीले दिएको मूल्याङ्कनअनुसार दशरथ रंगशालाको फ्लडलाइट कमजोर, खेल मैदानको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको, खेलाडी, मिडिया तथा भिआइपी अतिथिहरू सबैका लागि एउटै प्रवेशद्वार प्रयोग गर्नुपर्ने समस्या रहेको र यसले सुरक्षा जोखिम निम्त्याउने देखिएको छ।
यससँगै नेपालमा अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना हुने सम्भावना टरेको छ, किनकि दशरथ रंगशाला बाहेक देशमा आवश्यक मापदण्ड पूरा गर्ने अर्को मैदान छैन। फलस्वरूप आगामी एसियन कप छनोटका खेल नेपालमा हुन सक्ने छैनन्।
तर एएफसीको मूल्याङ्कनले अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिए पनि आगामी सेप्टेम्बरमा नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल भने निर्धारित तालिकाअनुसार दशरथ रंगशालामै हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।





