समाचार

सुदूरपश्चिममा सुरु भयो गौराको चहलपहल, भोलि बिरुडा पञ्चमी

धनगढी :सुदूरपश्चिमको मौलिक पर्व गौरा नजिकिँदै गर्दा प्रदेशभर उत्साह र चहलपहल बढेको छ। आगामी बिहीबारदेखि औपचारिक रूपमा सुरु हुने यस पर्वका लागि टाढाटाढा रहेका स्थानीयहरू आफ्नो थातथलो फर्किन थालेका छन्।

गौराको सुरुवात बिरुडा पञ्चमीका दिन हुन्छ। यस दिन गहत, गहुँ, केराउ, मास र गुराँससहित पाँचथरी अन्न भिजाएर पर्वको प्रारम्भ गरिन्छ। व्रतालु महिलाहरूले संकलित अन्नलाई पवित्र भाँडामा राखी पूजाआजा गर्दै भिजाउने परम्परा छ।

भिजाइएका बिरुडालाई षष्ठीका दिन नजिकैको धारो, तलाउ वा पोखरीमा लगेपछि धमारी चाचरी, फाग, सगुना, डेउडालगायतका गीत गाउने र खेल खेल्ने चलन रहिआएको छ। सप्तमीमा गौरालाई “गौरा घर” भित्र्याइन्छ र व्रतालु महिलाहरूले विशेष पूजा आराधना गर्छन्।

अष्टमी अर्थात् गौराष्टमी पर्वको मुख्य दिन हो। यस दिन गौरालाई आँगनमा राखी मङ्गलगानसहित नचाइन्छ। पाँच दिनसम्म निरन्तर पूजा, गीत र डेउडा खेल्दै गौराको उत्सव मनाइन्छ।

धार्मिक मान्यताअनुसार पौराणिक कालमा पार्वतीले महादेवलाई पति पाउने कामनासहित शिवलिङ्ग निर्माण गरी कठिन तपस्या गरेपछि सफल भएकी थिइन्। सोही घटनाको स्मरणस्वरूप गौरा पर्व मनाउने चलन परम्परागत रूपमा निरन्तरता दिइँदै आएको छ।

सेयर गर्नुहोस् :