राजनीति

माओवादीलाई विश्वास नगरे देश बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीलाई विश्वास नगरे मुलुक ठूलो संकटमा पर्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२ लाई सम्बोधन गर्दै उनले माओवादीको योगदानलाई बेवास्ता गरेर देशलाई अघि बढाउन सकिँदैन भन्दै चेतावनी दिएका हुन्।

‘यो परिवर्तन माओवादीले ल्याएको हो। त्यसैले पाठ्यक्रमदेखि नीति निर्देशनसम्म माओवादीअनुसार हुनु जरुरी छ,’ प्रचण्डले भने, ‘जनताले माओवादीलाई विश्वास नगरे यो देश दुर्घटनामा पर्छ। बच्दैन। ठूलो अफ्ठ्यारोमा फस्छ।’

उनले वर्तमान सरकारबारे पनि तीखा टिप्पणी गरे। प्रचण्डका अनुसार अहिलेको सत्ता व्यवस्थापन सुशासन दिन नभई ‘डर’का आधारमा बनेको हो। ‘माओवादीका सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम भएको छैन। तर कांग्रेस र एमाले भ्रष्टाचारमै लिप्त छन्,’ उनले आरोप लगाए, ‘यो सरकार त भ्रष्टाचारीलाई बचाउन र डरबाट बनेको हो भन्ने कुरा म खुलेआम भन्छु, सदनमै भनिसकेको छु।’

सेयर गर्नुहोस् :