समाचार

निरन्तर वर्षासँगै बढ्यो बाढीको जोखिम, ५१ जिल्लामा सतर्कता

काठमाडौँ : लगातार सक्रिय भएको मनसुनका कारण देशभर बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार ५१ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली सहितका ठूला नदी र तिनका सहायक नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल छ। तर, वर्षा निरन्तर भइरहेकाले नदीहरूको पानीस्तर तीव्र गतिमा बढ्ने सम्भावना रहेको चेतावनी दिइएको छ।

विशेषगरी काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, रुकुम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा साना नदी नालामा आकस्मिक बाढी आउने मध्यम जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, गुल्मी, पाल्पा, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, डोल्पा, मुगु, हुम्लालगायतका जिल्लामा पनि बाढीको मध्यम स्तरको जोखिम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले प्रभावित जिल्लाका स्थानीयलाई सतर्क रहन, नदी किनार नजिक नजान र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

सेयर गर्नुहोस् :