काठमाडौं : अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो अभ्यास खेलमा समेत पराजित भएको छ। आज भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो। जवाफमा नेपालले २० ओभर खेल्दा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।
नेपालका तर्फबाट रुपेश सिंहले ३७ रन र लोकेश बमले ३२ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ करण केसी, शाहब आलम र रुपेश सिंहले समान २–२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट हात पारे।
साउथ अष्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए भने डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९ रनको योगदान दिए।
यसअघि बिहीबारै खेलेको पहिलो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो। तर मंगलबारका दुवै खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) टोलीलाई पराजित गरेको थियो।





