समाचार

पहिलो पटक गाउँ–नगरपालिकामा ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ शून्य

काठमाडौं : स्थानीय तह पुनर्संरचनापछि पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिका सबैमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी पालिकामा खटाएपछि अब कुनै पनि स्थानीय तह निमित्त अधिकृतका भरमा सञ्चालन नहुने भएको हो।

मन्त्री भगवती न्यौपानेले पदभार सम्हालेपछि नै ‘निमित्त प्रमुख प्रशासकीय अधिकृतमा भर पर्ने प्रवृत्ति अन्त्य गर्ने’ घोषणा गरेकी थिइन्। उनका अनुसार मन्त्रालयको निर्णयअघि देशभरका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त अधिकृतका भरमा चलिरहेका थिए।

“सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो। यसको सुधार र परिमार्जन मेरा प्राथमिकता हुन्,” मन्त्री न्यौपानेले भनिन्, “देश र जनताको हितमा अब सबै पालिकामा पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन्।”

मन्त्रीले जनप्रतिनिधिलाई पालिकामा पठाइएका अधिकृतलाई स्वागत गर्न र उनीहरूको क्षमता अधिकतम उपयोग गर्न आग्रह गरिन्। मन्त्रालयको दाबी अनुसार यो कदमले बाह्य चलखेलमा हुने सरुवा रोकथाम, सुगम क्षेत्रमै बस्ने प्रवृत्ति नियन्त्रण, दुर्गममा सेवाको पहुँच विस्तार, प्रशासनिक न्याय र कार्यकुशलतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

यससँगै जनप्रतिनिधिबाट ‘निमित्तभन्दा पनि आफूले रोजेका व्यक्तिलाई प्रमुख बनाउने प्रवृत्ति’ अन्त्य हुने विश्वास मन्त्रालयले गरेको छ।

मन्त्रालयले अवकाशको नजिक पुगेकालाई बाहेक, दुई वर्षभन्दा बढी एउटै कार्यालयमै बसिरहेका, उपत्यकामा मात्र सीमित, स्थानीय तहमा अनुभव नलिएका वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर खटाइएको जनाएको छ।

सहसचिव दरबन्दी हुने ९ उपमहानगरपालिका र १ महानगरपालिकामा समेत छिट्टै स्थायी प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताइन्।

सेयर गर्नुहोस् :