काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै संवेदनशील सन्देश दिएका छन्। उनले लिपुलेक सम्बन्धी विषयलाई चीनसँग स्पष्ट रूपमा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत मेयर साहले लेखेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।”
भारत र चीनबीचको सहमतिबाट नेपालको सीमा र सार्वभौमिकतामाथि असर परेको भन्दै उनले प्रधानमन्त्रीलाई चीन भ्रमणका क्रममा यस विषयलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गर्न सुझाएका छन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा नेपालको ऐतिहासिक अधिकार रहँदै आएको भए पनि पछिल्ला वर्षहरूमा यसबारे अन्तर्राष्ट्रिय तहमा विवाद बढ्दै आएको छ। प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणले यस विषय पुनः चर्चामा आउने अनुमान गरिएको छ।





