काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहितको निर्वाचनमा प्रतिष्पर्धा गर्न खुलेर चुनौती दिएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले जनता माझ आफू माथि लोकप्रियता भएको दाबी गर्ने ओलीलाई संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा आउन आग्रह गरेका छन।
“यदि तपाईं जनतामाझ अत्यधिक लोकप्रिय हुनुहुन्छ भन्नेमा विश्वास छ भने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित २०८४ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्नुस्,” लिङ्देनले भने।
लिङ्देनले आवश्यक परे झापा-५ बाटै निर्वाचन लड्ने घोषणा पनि गरे। उनले एउटा सांसद जित्नु वा हार्नु भन्दा ठूलो कुरा देशमा सही शासन व्यवस्था स्थापित गर्नु रहेको बताए। “मन्त्री, प्रधानमन्त्री वा सांसद बन्नु मेरो उद्देश्य होइन, प्रणाली सुधार गर्नु नै मेरो लक्ष्य हो,” उनले स्पष्ट पारे।
राप्रपा अध्यक्ष लिङ्देनले नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली अपरिहार्य भएको दाबी गरे।




