युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबियको शनिबार दिउँसो लभिभमा गोली हानी हत्या गरिएको छ। अधिकारिहरूका अनुसार फ्रान्किभ्स्क जिल्लामा ई-बाइकमा आएका एक व्यक्तिले कुरियरको भेषमा पारुबियमाथि धेरै पटक गोली प्रहार गरेका थिए। घटनापछि उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल लैजाने प्रयास गरिए पनि बचाउन सकिएन।
५४ वर्षीय पारुबिय सन् २०१४ को युरोमैदान आन्दोलनका अगुवा नेतामध्ये एक हुन्। उक्त आन्दोलनले तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई पदच्युत गर्दै युरोपेली संघसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको थियो।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पारुबियको निधनप्रति दुःख व्यक्त गर्दै यसलाई “भयानक हत्या” भनेका छन्। उनले गृहमन्त्री र महान्यायाधिवक्ताबाट घटना सम्बन्धी जानकारी लिएको जनाएका छन्।
युक्रेनको राष्ट्रिय प्रहरी, लभिभ क्षेत्रीय प्रहरी र सुरक्षा सेवाले घटनाबारे अनुसन्धान थालेका छन्। आक्रमण कसले र किन गरेको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन।
पारुबियले युरोमैदानपछि राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले रुसद्वारा क्रिमिया कब्जा, पूर्वी युक्रेनमा भएको द्वन्द्व र २०२२ मा सुरु भएको पूर्णस्तरीय युद्धमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
युक्रेनका परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले उनलाई “देशको स्वतन्त्रता र सार्वभौमिकताका लागि जीवन समर्पण गर्ने देशभक्त” भनेर वर्णन गरेका छन्। त्यस्तै, पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले यो हत्या “युक्रेनको मुटुमाथि प्रहार गरिएको गोली” भएको टिप्पणी गरेका छन्।





