काठमाडौं : चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको भ्रमण तालिकामा मोदीसँगको औपचारिक भेटवार्ता समावेश छैन।
प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी तियानजिनमा सुरु भएको २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन आगमनकै दिन उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिप्रति नेपालको आपत्ति प्रष्टसँग व्यक्त गरेका थिए।
भ्रमण टोलीमा रहेका पत्रकार प्रकाश सिलवालका अनुसार, “भारत भ्रमण कार्यक्रम तय भइसकेको अवस्थामा चीनमै ओली–मोदीबीच भेटवार्ता हुने सम्भावना छैन।”
यसैबीच, भारतीय सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री ओलीको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीको यो चीन भ्रमण २०२० मा गलवानमा भएको सीमा झडपपछिको पहिलो भएको हाे। उक्त भेटको उद्देश्य भारत–चीनबीचको सीमा विवाद न्यून पार्ने रहेको छ।





