काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको याङजिङ शहरमा आइतबार ५० मिनेट लामो द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
भेटमा राष्ट्रपति जिनपिङले चीन–भारत सहकार्यलाई अपरिहार्य भन्दै भने, “ड्रयागन र हात्ती सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता आज झनै बढेको छ। हामी दुई प्राचीन सभ्यता र विश्वका सबैभन्दा धेरै जनसंख्या भएका मुलुक हौं। ग्लोबल साउथका अग्रणी सदस्यको नाताले हामीले जनताको हितमा सुधार ल्याउने र मानव सभ्यताको प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ।”
प्रधानमन्त्री मोदीले पनि दुवै देशबीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनका अनुसार, भारत–चीन सहकार्यबाट करिब २.८ अर्ब मानिस प्रत्यक्ष लाभान्वित हुनेछन्।
मोदीले आपसी विश्वास र सम्मानकै आधारमा सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “गत वर्ष कजाकिस्तानमा भएको उपयोगी छलफलले सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो। सीमामा सैनिक फिर्तीसँगै शान्ति र स्थिरता कायम भएको छ। सीमा व्यवस्थापनबारे विशेष प्रतिनिधिहरूबीच सम्झौता भएको छ। कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ र दुवै देशबीचको सिधा उडान पनि फेरि सञ्चालनमा आएका छन्।”
मोदीले चीनको सफल शाङ्घाई सहयोग संगठन (एससीओ) अध्यक्षताको प्रशंसा गर्दै भ्रमणका लागि निमन्त्रणा र आतिथ्यताप्रति आभार प्रकट गरे।
सन् २०२० मा गलवानमा भएको भीषण झडपपछि तिक्त बनेको सम्बन्ध पछिल्लो समय केही सहज हुँदै गएको छ। यसैबीच, मोदीसहित दर्जनौं मुलुकका शीर्ष नेताहरू चीनको तियानजिनमा हुँदै गरेको इतिहासकै ठूलो एससीओ शिखर सम्मेलनमा सहभागी हुँदैछन्। यसपटक मध्य एशिया, मध्यपूर्व, दक्षिण एशिया र दक्षिणपूर्व एशियाका २० भन्दा बढी देशका नेताहरू सहभागी भएका छन्।





