समाचार

वरिष्ठ लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन

काठमाडौं : नेपाली लोकदोहोरी संगीतकी प्रख्यात गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुर हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो।

२०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मिनुभएकी इन्दिरा गोले गुरुङले पाँच दशकभन्दा बढी समयदेखि नेपाली संगीतलाई अतुलनीय योगदान दिएकी थिइन्। उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन्, जसमा लोकदोहोरी, तामाङ सेलो, देउडा लगायतका विभिन्न भाका र भाषाका गीतहरू प्रमुख छन्।

उनका चर्चित गीतहरू ‘चागुनारायण थान’ र ‘आज मलाई उनीको पछ्यौरी’ आज पनि लाखौं नेपालीको मनमा अमर छन्। तामाङ कलाकार संघका अनुसार, गुरुङको अन्त्येष्टि आज बौद्ध परम्पराअनुसार गरिने तयारी छ। अन्त्येष्टिअघि उनका पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राष्ट्रिय नाचघरमा राखिनेछ।

सेयर गर्नुहोस् :