अछाम, (साँफेबगर) : साँफेबगर युवा युनाइटेड क्लब, अछामको आयोजनामा हुन लागेको “अछाम च्याम्पियन्स ट्रफी २०८२” यही असोज ५ गतेदेखि रिडीकोट क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुने भएको छ । उद्घाटन समारोहमा विशेष अतिथिहरूको उपस्थितिमा प्रतियोगिताको सुरुवात गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई बैद्यनाथ पूल, रामारोशन पूल र खप्तड पूल गरी तीन समूहमा विभाजन गरिनेछ । क्लबका अनुसार यी नामहरू अछामका प्रमुख पर्यटन स्थलहरू प्रचार–प्रसार गर्ने उद्देश्यले राखिएका हुन् ।
क्लब अध्यक्ष राज कुवंरका अनुसार प्रतियोगिता केवल खेलकुद सम्म सीमित नभई सामाजिक सन्देशसहित अघि बढाइनेछ । “ड्रग्सलाई ‘ना’ र खेलकुदलाई ‘हो’” भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन गरिँदैछ । कुवंरका अनुसार, “खेलकुदले युवालाई शारीरिक मात्र नभई, मानसिक रूपमा समेत सशक्त बनाउँनेछ र नशा जस्ता गलत बानीबाट टाढा राख्न सहयोग पुर्याउनेछ ।”
यो प्रतियोगिता सुदूरपश्चिम प्रदेश भरिका टोलीहरूका लागि खुला हुनेछ । जिल्ला, नगरपालिका वा वडा स्तरका जुनसुकै टोलीले समेत सहभागिता जनाउन पाउनेछन् । टोली दर्ता ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ ( First come , first Basis )आधारमा हुनेछ भने दर्ता शुल्क रु. ११,००० तोकिएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो जिल्लाको राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्नेछ । साथै, स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न प्रत्येक टोलीले अन्य जिल्लाबाट अधिकतम ३ खेलाडी मात्र समावेश गर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि करिब रु. ३ लाख रहनेछ । पहिलो पुरस्कार : रु. १,८१,०००, दोस्रो पुरस्कार : रु. ८१,०००, तेस्रो पुरस्कार : रु. ३१,००० रहेको छ
यसका अतिरिक्त उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उदाउँदो खेलाडी, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र उत्कृष्ट क्याच जस्ता व्यक्तिगत उपाधिहरू पनि वितरण गरिनेछन् ।
प्रतियोगिता अवधिमा TikTok, Facebook, Instagram जस्ता सामाजिक सञ्जालमा अछामी भाषामा क्रिकेट सम्बन्धी उत्कृष्ट कन्टेन्ट सिर्जना गर्ने ३ जनालाई नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । प्राविधिक सहयोगमा प्रतियोगितालाई क्रिकेट संघ नेपाल (CAN) अछामले गर्ने आयोजकले जनाएको छ।
थप सम्पर्काका लागि
राज कुवंर, अध्यक्ष
साँफेबगर युवा युनाइटेड क्लब
☎️ ९७६५७६८६६८ / ९८४०५०४४३५
इमेल : sanfebagaryouthunitedclub@gmail.com




