समाचार

सिंहदरबार अझै आगोमै, मन्त्रालयहरू ध्वस्त

काठमाडौं : जेन-जी प्रदर्शनकारीको भीषण आक्रमणपछि सिंहदरबार भित्र अहिले पनि आगो बलिरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित दर्जनौं मन्त्रालयहरू जलेर ध्वस्त भएका छन् ।

सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री कार्यालयमा अझै आगो दन्किरहेको सुरक्षाकर्मीहरूले बताएका छन् । गृह, ऊर्जा, शिक्षा, परराष्ट्रलगायतका मन्त्रालयहरूमा पनि व्यापक क्षति पुगेको छ । प्रदर्शनकारीहरूले सिंहदरबारभित्र रहेका अधिकांश सवारीसाधनमा आगजनी गरेका छन् । संघीय संसद सचिवालयका सबैजसो गाडी जलेका छन् भने दलहरूको संसदीय दल कार्यालयमा पनि क्षति पुगेको छ । एक मन्त्रीको गाडीसमेत जलेको पुष्टि भएको छ ।

नेपाल टेलिभिजनको भवनमा तोडफोड भए पनि कर्मचारीको आग्रहपछि आगजनी रोकिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद् सचिवालय र रेडियो नेपाल जोगिएका छन् ।
तर रेडियो नेपालभित्र प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरेका थिए । त्यहाँका कर्मचारीका अनुसार, लखेटिएका केही सुरक्षाकर्मीलाई उनीहरूले सर्वसाधारणको लुगा फेरेर उद्धार गरेका थिए । केही हतियार समेत त्यहीँ लुकाइएको बताइएको छ ।

सेना गस्ती, आगो नियन्त्रण प्रयास

सिंहदरबार परिसरमा अहिले नेपाली सेनाको गस्ती कडा छ । सर्वसाधारण र कर्मचारीलाई प्रवेशमा रोक लगाइएको छ । दमकलले निरन्तर पानी छ्यापे पनि मुख्य भवनमा लागेको आगो अझै निभेको छैन ।

सेयर गर्नुहोस् :