समाचार

काठमाण्डौंमा सोमबार देखि विद्यालय सञ्चालन हुँदै,

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सोमबार (३० भदौ) बाट नगरभित्रका सबै विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। जेनजी आन्दोलनका कारण २३ र २४ भदौमा बन्द भएका विद्यालयहरू अब नियमित पठनपाठनमा फर्कने भएका हुन्। महानगरपालिकाले विद्यालयहरूमा भौतिक उपस्थिति आवश्यक रहेको भन्दै शिक्षक तथा कर्मचारीहरूलाई आइतबार (२९ भदौ) देखि नै विद्यालयमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। शिक्षक र कर्मचारीहरूलाई विद्यालयको प्रशासनिक कामकाज, सरसफाई तथा पठनपाठनको पूर्वतयारीमा संलग्न हुन पनि आग्रह गरिएको छ।

त्यस्तै, विद्यालय सञ्चालनअघि संरचनागत कुनै क्षति पुगेको भए त्यसको विवरण महानगरपालिकालाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ। विद्यार्थीहरूका लागि अभिभावकहरूसँग समन्वय गरी उनीहरूको अवस्था बुझ्न विद्यालयहरूलाई आग्रह गरिएको छ। महानगरले अवस्था पूर्ण रूपमा सामान्य नभए सम्म अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन अनुरोध गरेको छ।

अभिभावकको साथमा आउन र जान नसक्ने बालबालिकाहरूका लागि भर्चुअल कक्षामार्फत पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सकिने महानगरले जनाएको छ। महानगरपालिकाले शैक्षिक गतिविधिमा शान्तिपूर्ण र सुरक्षित वातावरण सुनिश्चित गर्न सबै पक्षको सहकार्य अपेक्षा गरेको छ।

सेयर गर्नुहोस् :