समाचार

जेनजी आन्दोलनका घटनाबारे छानबिन समिति गठन हुने

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकार समिति गठन गर्ने बताएका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै उनले आन्दोलनका क्रममा देशभर भएका आगजनी र मानवीय क्षतिबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति गठन हुने स्पष्ट गरे। “जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। ती घटनाको सत्यतथ्य उजागर गर्न समिति गठन हुन्छ,” मन्त्री अर्यालले भने।

आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक मनाउने ,शोकको दिन राष्ट्रिय झण्डा आधा झुकाइने र मृतकका परिवारलाई काजकिरिया खर्चका लागि प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराइनेछ साथै मृतकको शव घरसम्म पुर्‍याउने व्यवस्था गर्ने मन्त्री अर्यालले जानकारी दिएका छन।

भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत र व्यापारी भवनलगायतका महत्वपूर्ण संरचनामा आगजनी भई ठूलो क्षति भएको छ।

सेयर गर्नुहोस् :