काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको नख्खु कारागारबाट भदौ २४ गते भएको रिहाइ बारे प्रष्ट पार्दै प्रशासन कै आग्रहका कारण उनलाई बाहिर ल्याउनुपरेको बताएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह–प्रवक्ता प्रतिभा रावलले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भनिन्, “त्यो दिन कारागार प्रशासनले सभापति लामिछानेको सुरक्षा सम्बन्धी चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्व वा परिवारका सदस्य तुरुन्त कारागारमा उपस्थित हुन आग्रह गरेको थियो। यो आग्रह एक पटक मात्र होइन, दशौँ पटक विभिन्न व्यक्तिहरूलाई गरिएको थियो। त्यसपछि उहाँलाई बाहिर निकाल्नुपर्ने अवस्था सिर्जना भयो।”
लामिछानेलाई सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई अवसर मानेर पार्टी नेताहरूले उनलाई गैरकानुनी रूपमा बाहिर निकालेको र उनका कारण अन्य कैदीहरू समेत निस्किएको आरोप लाग्दै आएको छ।





