समाचार

कैलालीमा सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितता वडाध्यक्षसहित विशेष अदालतमा मुद्दा

काठमाडौं : कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार मृतक लाभग्राहीहरूको नाममा समेत भत्ता वितरण गरिएको एउटै नागरिकताको आधारमा दोहोरो लाभग्राही बनाएर रकम निकासा गरिएको नवीकरण नगरिएका लाभग्राहीहरूको रकम समेत निकालिएको जस्ता अनियमितता गरिएको पाइएको छ।

आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख भए अनुसार वडामा कुल ६८३ जनाको नाममा भत्ता वितरण गरिएको थियो। तीमध्ये धेरै लाभग्राहीको नाममा वडाका जिम्मेवार पदाधिकारीहरूले आफैं औँठाछाप लगाई प्रमाणित गरेको पाइएको छ। यसरी गरिएको अनियमितता बाट सरकारी कोषलाई करिब रु. ७३ लाख ३७ हजार ६ सय २७ रुपैयाँ बराबरको हानी पुगेको आयोगको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दोषीहरूमाथि कारबाहीको माग गर्दै सो रकम असुल–उपर गर्न माग गरेको छ। साथै, दफा १९(२) र दफा ११ बमोजिम जरिवाना तथा अतिरिक्त सजायसमेत हुनुपर्ने माग गरेको छ।

सेयर गर्नुहोस् :