खेलकुद

खेलाडीको अनलाइन अपडेट राख्ने व्यवस्था गर्दैछौं

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलबार खेलकुद पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्रालयका नयाँ पहल र सुधारकार्य बारे जानकारी दिएका छन्।

मन्त्री गुप्ताका अनुसार, स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीहरूको डिजिटल दर्ता प्रणाली लागू गरिने छ, जसले राष्ट्रिय टोली छनोटमा खेलाडीको पृष्ठभूमि र क्षमता बुझ्न सहयोग पुर्‍याउनेछ। उनले कर्पोरेट सोसियल रिन्पोन्सिबिलीटी (सिएसआर)अन्तर्गत कम्पनीहरूले १ प्रतिशत कर खेलकुद विकास कोषमा जम्मा गर्ने नियम ल्याउने तयारीमा रहेको बताएका हुन । हाल सर्वोच्चमा रिट परेको यस विषयलाई छिट्टै मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको उनले बताए।

त्यस्तै, खेलाडीको पुरस्कार रकममा लाग्ने २५ प्रतिशत कर हटाएर पूर्ण पुरस्कार रकम खेलाडीलाई उपलब्ध गराउने व्यवस्था पनि प्रस्तावमा रहेको छ। विदेशमा खेल खेल्न जाने नेपाली खेलाडीको भिसा प्रक्रिया ५–७ दिनमा पूरा गर्ने प्रयास पनि अघि बढाइएको मन्त्री गुप्ताले जानकारी दिए। मन्त्री गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) मा चर्किरहेको ए डिभिजन लिग विवाद समाधान गर्ने दिशामा पनि काम भइरहेको बताए। यसका लागि एन्फासँग छलफल र आवश्यक निर्देशन दिइसकिएको उनले स्पष्ट पारेका छन।

छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का समेत उपस्थित थिए।

सेयर गर्नुहोस् :