काठमाडौँ :स्थापना भएको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर सशक्त राजनीतिक शक्ति बनेको छ। पार्टी स्थापना भएको ४० महिना मै रास्वपाले देशका ७४ जिल्लामा आफ्नो संगठन विस्तार गरेको जनाएको छ। चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अनुसार रास्वपाको सदस्य संख्या अहिले ३ लाख पुगेको छ।
कुल ७७ जिल्ला मध्ये हिमाली तीन जिल्ला बाहेक अन्य सबै जिल्लामा पार्टीको संगठन फैलिएको अर्यालले जानकारी दिएका छन्। देशका ७५३ स्थानीय तहमध्ये ५५० पालिकामा रास्वपाको सञ्जाल पुगेको र ४ हजार वडामा पार्टी समिति गठन भइसकेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, देशभरका करिब २ हजार ५ सय वडा र ५० पालिकामा पार्टीको अधिवेशन सम्पन्न भएको पनि उल्लेख गरिएको छ।
रास्वपाले अब देश भित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो सञ्जाल विस्तार गरेको बताएको छ। हालसम्म ३५ देशमा रास्वपाको संगठन स्थापना भइसकेको छ। राजनीतिक प्रतिवेदनका अनुसार रास्वपामा हाल ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाहकार परिषद्, दुई आयोग, ३८ विभाग, सातवटा प्रदेश समिति र तिनका अन्तर्गतका विभागहरू गठन भइसकेका छन्।





